मोरङमा नेकपा एमालेको इतरपक्षका सबै पदाधिकारी विजयी

विराटनगर : नेकपा एमाले मोरङको १० औँ जिल्ला अधिवेशनबाट इतर पक्षले पदाधिकारीमा संस्थापन पक्षलाई ‘क्लिन स्वीप’ गरेको छ ।

शुक्रवार साँझ मतगणना सम्पन्न हुँदा इतर पक्षको प्यानलै विजयी भएको हो । अन्तिम मत परिणाम अनुसार संस्थापन पक्षलाई पराजित गर्दै एमाले मोरङको पदाधिकारीमा इतर समूहको प्यानलै आएको छ । अध्यक्षमा अजम्बर राई निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी संस्थापन पक्षका राजकुमार ओझालाई ३९ मतान्तरले हराए ।

राईले ४ सय ४६ मत पाएका छन् भने ओझा ४ सय ७ मत पाए । राई जिल्ला समन्वय समिति मोरङका प्रमुख र ओझा कोशी प्रदेशका पूर्व प्रदेशसभा सदस्य हुन् ।

उपाध्यक्षमा सागर थापा ४ सय २२ मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धी शान्ति लिम्बू भुजेलले ३ सय ९१ मत पाइन् ।

त्यस्तै, सचिवमा सोमराज थापा विजयी भएका छन् । थापाले ४ सय ६१ मत ल्याउँदा उनका प्रतिस्पर्धी रविन थापा ३ सय ६८ मत प्राप्त गरेका छन् ।

उपसचिवमा भारी मतका साथ सन्तोष वान्तवा निर्वाचित भएका छन् । उनले ४ सय ९० मत ल्याउँदा । वान्तवाका प्रतिस्पर्धी ईर्जालाल राजवंशीले ३ सय ११ मत मात्रै ल्याए ।

महिला उपसचिवमा उषा झा निर्वाचित भइन् । उनले ४ सय १८ मत ल्याउँदा प्रतिस्पर्धी शिल्पा निराला कार्कीले ४ सय ५ मत पाइन् ।

एमाले मोरङको अधिवेशन फागुन १७ गतेदेखि विराटनगरमा सुरु भएको थियो । जिल्ला अधिवेशनमा ८ सय ८८ मत खसेको थियो । ९ सय ११ जना प्रतिनिधिमध्ये २३ जना अनुपस्थित भएका थिए ।

एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि बुधवार मतदान भएको हो । बिहीबार दिउँसोबाट पार्टी कार्यालय पाञ्चालीमा सुरु भएको पदाधिकारीतर्फको मतगणना शुक्रवार साँझ सकिएको छ ।

पदाधिकारीतर्फको मतगणना मात्रै सकिएको हो । सदस्यहरूको मतगणना जारी छ । सदस्यहरूको मतगणना शनिवार बिहानसम्ममा सम्पन्न गर्ने तयारी छ । ५ पदाधिकारीसहित एमाले मोरङको जिल्ला कमिटी १ सय ६५ सदस्यीय हुने छ ।

एमाले मोरङमा इतर पक्षको नेतृत्व विनोद ढकालले गरिरहेका छन् । पार्टीको कोशी प्रदेश अधिवेशनमा घनश्याम खतिवडासँग पराजित भएपछि उनले एमालेभित्र अर्को समूहको नेतृत्व गरिरहेका छन् ।

संस्थापन पक्षलाई भने केन्द्रीय उपाध्यक्ष गुरु बराललगायतका नेताको साथ थियो । एकाएक इतर पक्ष नेतृत्वमा आएपछि संस्थापन पक्ष ठुलो धक्का बेहोर्न बाध्य भएको छ ।